धान उत्पादनमा वृद्धि हुने अनुमान

रुकुम । रुकुम पश्चिममा यसवर्ष धान उत्पादनमा वृद्धी हुने अनुमान गरिएको छ । यसपटक समयमै वर्षा सुरु भएको र धान रोपाई पनि समयमै भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो ।
जिल्लाको अधिकांश ठाउँका किसानले लगाएको धानबालीमा हालसम्म कुनैपनि रोग तथा किरा फट्याङ्ग्रा नलागेकाले धान उत्पादनमा वृद्धि हुने कृषक धिरेन्द्रजगं शाहले बताए ।
जिल्लाको चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी, र वाफिँकोट गाउँपालिका अन्तरगतका विभिन्न स्थानमा लगाएको धानवाली उत्पादन राम्रो हुने देखिएको हो । यसवर्ष जिल्लाका किसानले लगाएको धानबाली फस्टाउँदै गएकाले गतवर्ष भन्दा यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय रुकुम पश्चिमले पनि अनुमान गरेको छ । कार्यालयका निमित्त प्रमुख राजेश शाहले यसवर्ष समयमै वर्षा सुरु भएको र किसानले पनि भनेकै समयमा मल पाएकाले धान उत्पादनमा वृद्धि हुने बताए ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिममा रहेको ३ हजार ४८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिँदै आएको छ । गतवर्ष जिल्लामा ९ हजार ४ सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो । भने यसवर्ष कृषि विकास कार्यालयका अनुसार ९ हजार ७ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्