तपाईँ सुन्दै हुनुहुन्छः

तिला गाउँपालिकालाई डेढ करोडको नमुना विद्यालय भवन हस्तान्तरण


जुम्ला । तिला गाउँपालिका ५ ढिम्कोटमा निर्माण सम्पन्न जिल्लाकै नमुना सुविधा सम्पन्न भवन पालिकालाई हस्तान्तरण गरिएको छ । तिला गाउँपालिका ५ ढिम्कोटस्थित कालिका मा.वि. मुलमा डेढ करोड बढीको लागतमा निर्माण गरिएको उक्त भवन मंगलबार हस्तान्तरण गरिएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भवनको उद्घाटन गर्दै विद्यालय भवन पालिकालाई हस्तान्तरण गरेका हुन् ।

विद्यालय पहुँच बाहिर रहेका किशोरीलाई विद्यालय पहुँचमा ल्याउन मैत्रीपुर्ण शौचालय देखि पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको छुट्टै बैठक हल, सफा कक्षा कोठा र डेक्स बेन्च सहितको दुई तले आठ कोठे पक्की नमुना भवन निर्माण गरि गाउँपालिकालाई हस्तान्तरण गरिएको किर्डाक नेपालका जिल्ला संयोजक रेशम शाहीले बताउनुभयो ।

उहाँका अनुसार यूएनडिपिको ८५ लाख २६ हजार चार सय र तिला गाउँपालिकाको ५५ लाख गरी जम्मा एक करोड ५५ लाख ८४ हजार बढीको लागतमा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तरर्गत विद्यालय भवन निर्माण गरिएको हो ।

किर्डाक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवन जिल्लाकै नमुना सुविधायुक्त छ । प्राविधिक अजित थापाले भने,“अपांग मैत्री शौचालय, छात्रछात्राको छुट्टाछट्टै शौचालय, किशोरीका लागि बटन थिच्दा अटो स्यानेटरी प्याड आउने मेसिन, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको बैठक कक्ष, कार्यालय कोठा र १० कक्षा सम्मको कक्षा कोठा छन् ।”

विद्यालय भवन निर्माणका लागि ८ जना जगाा दाता निशुल्क रुपमा लाखौ पर्ने जमिन दान गरेका थिए । जसलाई भवन उद्घाटनको अवसरमा मंगलबार सम्मान गरिएको छ ।

महिनावारी भएको बेला विद्यालयमा नआउने किशोरीलाई विद्यालयको पहुँचमा ल्याउन स्यानेटरी प्याडदेखि छुटछुटै शौचालयको व्यवस्था गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए । उहाँले भन्नुभयो, “अझ कर्णालीमा किशोरी शिक्षाको दुरावस्था छ । विद्यालयमा आवश्यक पूर्वाधार नहुँदा देवता रिसाउने र विद्या नष्ट हुने डरले विद्यालय छोड्ने किशोरीको संख्या बढी छ । तर नमुना सुविधा यूक्त भवन निर्माणले तिला ५ का सयौ किशोरीलाई विद्यालयमा ल्याउन मद्दत गर्ने विश्वास छ ।”

भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले दक्ष जनशक्ति उत्पादन गर्न, स्वालम्बन नागरिक बनाउन, शिक्षा क्षेत्र पहिलो जग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुर्वाधार निकै नमुना बनेको छ । अब पूर्वाधार जस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने र शैक्षिक गुणस्तर कायम गर्ने सवालमा पालिका गम्भीर हुन सुझाब दिए । पुर्वधार, स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता गर्नुभयो ।

साथै तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दिगो विकास लक्ष्यको अवधारणा अनुसार नै शिक्षा क्षेत्रको लगानीमा जोड दिइएको बताउनुभयो । जिल्लाकै नमुना भवन निर्माण भएपनि भवन जस्तै नमुना र गुणस्तरी शिक्षा दिने चुनौती आएकारले योजनाबद्ध ढंगबाट शिक्षा क्षेत्रको सुधारमा अघि बढने प्रतिबद्धता गर्नुभयो ।
विद्यालय भवन उद्घाटन गर्दै मन्त्री दल रावल, तस्बिरः सागर परियार

प्रतिक्रिया राख्नुहोस्

Back to top button