बैंकको सिस्टम ह्याक गरी रकम अपचलन गर्ने व्यापारी पक्राउ

कञ्चनपुर । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलन गरेको अभियोगमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चम्पावत जिल्लाको बनबासाका ५५ वर्षीय व्यापारी शुसिल गर्गलाई सोमबार साझ गड्डाचौकीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गर्गलाई आवश्यक कार्वाहीका लागि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भएको छ ।
प्रहरीका अनुसार कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ अपचलन गरेको अभियोगमा गर्ग फरार थिए । जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर र संगठित अपराध लगायतका मुद्धामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो । सो घटनामा उनकै भतिजा अन्नु भनिने अनुज गर्ग भने अझै फरार छन् ।
महेन्द्रनगरको बनगाउँका यज्ञराज भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेपछि उनकै बयानका आधारमा शुसिल पक्राउ परेका हुन । २०७६ असोजमा कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी एउटा गिरोहले पाँच करोड रुपैयाँ काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी लुटेको थियो ।







प्रतिक्रिया राख्नुहोस्