राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान
काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई ४ लाख रुपैयाँ प्रदान गरिएको हो ।
एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो ।
बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरियो । तीनैलाई घुडाको समस्या छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिदै आएको छ ।
२०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान दरले आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।
भुकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग दिइएको थियो । त्यस बाहेक समस्यामा परेका खेलाडीलाई पनि विभिन्न समयमा कोषले आर्थिक सहायता उपलब्ध गराउदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्