सरकारको प्रस्तावमा मतदान गर्न नेकपाको ह्वीप
रुपन्देही । प्रदेश नं ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत राख्न नेकपा संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।
आज सोमबार बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारले प्रस्तावको पक्षमै मत हाल्न ह्वीप जारी गर्नुभएको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
नेता ढकालले विगतमा जेजस्ता आन्तरिक विवाद भए पनि अब ह्वीप लागेकाले प्रदेशसभा सदस्यहरू राजधानी सार्ने पक्षमा मतदान गर्न तयार भएको बताउनुभयो ।
यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेख्नुभएको थियो ।
प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्