बंगलादेश तेक्वान्दो अन्तराष्ट्रिय पुम्सेमा शाक्यलाई स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्यले प्रथम बंगलादेश तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।
गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको सागमा एकल र समूहमा स्वर्ण पदक जितेकी आयशाले आइतबार अनलाइनमार्फत भएको च्याम्पियनसिपमा ४० वर्ष मूनिको उमेर समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । सागपछि आयशा पहिलो पटक अनलाइन प्रतिस्पर्धामा सहभागी भएकी हुन् ।
३० वर्ष मूनिको प्रतिस्पर्धामा स्वर्ण र रजत दुवै नेपाली खेलाडीले जितेका छन् । त्यसमा पार्वती गुरुङले पहिलो र निता गुरुङले दोस्रो स्थान प्राप्त गरेका थिए । सागमा पार्वतीले व्यक्तिगत र निताले समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
यू २४ वर्ष मूनिको महिलातर्फ सिना मादेनले रजत पदक जितिन् । सिना सागकी व्यक्तिगतमा स्वर्ण र समूहमा कास्य पदक विजेता हुन् । त्यस्तै यू २४ वर्ष मूनिको पुरुषतर्फ कृष्णबहादुर तामाङले रजत पदक जिते । कृष्णले सागमा रजत पदक जितेका थिए । सोही समूहमा दीपेन्द्र गुरुङले छैटौं स्थान प्राप्त गरे ।
सागमा दीपेन्द्रले भने समूहमा कास्य पदक जितेका थिए । आइतबार अनलाइन पुम्सेमा भाग लिने ६ मध्ये पार्वती नेपाल पुलिस क्लबकी र बाँकी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । सेनाको लगनखेलस्थित आर्मी फिजिकल टेर्निङ एन्ड स्पोर्टस सेन्टरबाट खेलाडीले अनलाइन प्रदर्शन गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्