तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा फस्टाउँदै माछा पालन व्यवसाय


सल्यान । माछा पालनबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरुको आकर्षण बढ्दै गएको छ । थोरै लगानी र क्षेत्रफलमा धेरै आम्दानी हुने भएकाले माछा पालनतर्फ सल्यानका किसानहरुको आकर्षण बढ्न थालेको छ ।

माछा पालन गरेपछि आम्दानी राम्रो भएका कारण खेतीयोग्य जमिनमा माछापालन व्यवसाय गर्नेहरुको संख्या बढी रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । खेती र मजदुरी गर्नेहरुको संख्या कम हुँदै गएको र माछाको माग पनि बढेपछि पोखरी खनेर माछापालन गर्नेहरुको संख्या बढेको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

कार्यालय प्रमुख उपाध्यायका अनुसार सल्यानमा पछिल्लो समय ९८ रोपनी क्षेत्रफलमा ३२ जना किसानले व्यावसायिक माछा पालन गर्दै आइरहेको छ । उनले भने ‘माछा पालन व्यवसायमा विदेशबाट आएका युवाहरु र केही विगतदेखि आफ्नै जग्गा जमिन भएका किसानहरुले गर्दै आइरहेका छन् ।’ माछा पालनबाट जिल्लामा वार्षिक ६० लाख आम्दानी भइरहेको कार्यालयले जनाएको छ । उत्पादन भएको माछा केही दाङ र सुर्खेत जाने भएपनि अधिकांश जिल्लामै खपत हुदै आइरहेको छ ।

जिल्लाबाट वार्षिक १२ मेट्रिकटन माछा उत्पादन भइरहेको उपाध्यायले बताए । थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने र एक पोखरीबाट ५ देखि ६ क्विन्टल माछा उत्पादन गर्न सकिने भएपछि किसानहरुको आकर्षण बढ्दै गएको उनको भनाई छ ।

बजारको माछाको माग बढेसँगै माछा पालनमा लागेको शारदा नगरपालिका वडा न ६ बरलाका किसान लोक बहादुर भण्डारीले बताए । बजारको माग अनुसार माछा पु¥याउन नसकेको उनको भनाई छ । माछा लिन पोखरीसम्म व्यापारीहरु आउने गरेको भण्डारीको भनाई छ । उनले भने ‘सुरुमा भात खाने खेतमा पोखरी खनेको भन्दै घरपरिवारबाटै विरोध भयो तर त्यही पोखरीबाट राम्रो आम्दानी भएपछि घरपरिवारले पनि सहयोग गरे ।’

१ लाख लगानीबाट झन्डै तीन रोपनी क्षेत्रफलमा माछापालन सुरु गरेका भण्डारीले साउन महिनायता मात्र तीन लाख आम्दानी गरेको बताए ।

अन्नबाली भन्दा माछा पालनबाट राम्रो आम्दानी लिन सकिने अर्का किसान धन बहादुर बुढा मगरको भनाई छ । माछा पालन पनि नगदे बाली जस्तै भएको भन्दै बुढाले लकडाउन यता ७५ हजार आम्दानी भएको बताए । ६ हजार भुराबाट गत वर्ष ३ लाख आम्दानी गर्न सफल भएको बताउँदै उनले अन्य खेतीभन्दा माछापालन निकै राम्रो भएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button