तपाईँ सुन्दै हुनुहुन्छः

झापाको मेचीनगरमा सिञ्चाई आयोजनाको शिलान्यास

झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले झापाको मेचीनगर–७ स्थित पालिया पूर्व सिञ्चाई आयोजना शिलान्यास गर्नुभएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ तथा जलश्रोत तथा सिञ्चाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालन हुने आयोजनाको आज एक कार्यक्रमका बीच मन्त्री कार्कीले शिलान्यास गर्नुभएको हो ।

आयोजना निर्माणको जिम्मा काठमाडौंस्थित देव एण्ड सायर निर्माण कम्पनीले लिएको छ ।

दुई बर्ष भित्रका निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २९ मा भएको सम्झौता अनुसार २०७९ असार २८ भित्रमा आयोजना सम्पन्न गरी सक्नु पर्नेछ । आयोजना रु पाँच करोड ६८ लाख ५८ हजार छ सय ९७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले चार सय बिघा जमिनलाई उपयोग गर्न पुग्ने गरी निर्माण हुने आयोजनाले यहाँका किसानले बर्षमा तीन पटक नगदे बाली उब्जाउन सक्ने हुँदा जीवनस्तर माथि उठ्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । मन्त्री कार्कीले कोरोनाको प्रकोपका कारण यो बर्ष मन्त्रालयले नयाँ योजना नबनाएको स्मरण गराउँदै थालिएका योजना समयमै सम्पन्न गर्ने र बजेटको कमी हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीका अनुसार मेचीनगर–७ स्थित काँकरभिट्टा– सत्तिघट्टा, गोमनसरी जोड्ने सडक खण्ड समेत अबको दुई बर्ष भित्रमा कालो पत्र गर्ने कार्यमा प्रदेश सरकार समक्ष चार करोड सम्मको बजेट छुट्याउन आवश्यक पहल भइरहेको बताउनुभयो ।

अर्का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले जनताको जीवनस्तरसँग जोडिएका यस्ता आयोजना सम्पन्न गर्न प्रदेश सरकारकोतर्फबाट बजेटको कमी हुन नदिन यथोचित पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button