रौतहट इँटाभट्टा काण्डः एक फरार अभियुक्त पक्राउ
वीरगञ्ज । प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले नेपाली काँग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटमा एक दर्जन भन्दा बढीलाई जिउँदै जलाएको आरोप लागेका बाराका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
राजपुर बम काण्डको रुपमा चर्चित सो घटनामा संलग्न बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो । सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताउनु भयो ।
प्रहरी नायव महानिरिक्षक सिंहका अनुसार पक्राउ परेका आरोपी बद्री सहनी इँटाभट्टाका हेड मिस्त्री हुन् । अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुत समेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो । पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस ४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो ।
सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए । ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो । सो घटनामा कांग्रेस नेता अफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् ।
प्रारम्भिक अनुसन्धानमा सहनीले घाइते तथा मृतकलाई इँटाभट्टाको थुप्रोमा कांग्रेस नेता अफताब आलम तथा निजका भाई महताब आलमको निर्देशनमा हालेको स्वीकार गरेको प्रहरी नायव महानिरिक्षक सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्