तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सुरक्षा अपनाउँदै पाहुनाको स्वागतमा जुट्यो नगरकोट

भक्तपुर । स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरकोटका होटल पाहुनाको स्वागतमा जुटेका छन् । होटलमा बस्न आउने पाहुनालाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन हरेक होटलले मुख्य प्रवेशद्धारमा नै सेनिटाइजरको व्यवस्था गरेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले पर्यटकको शरिरको तापक्रम हेरेर रिसेप्सनमा मास्क र पञ्जा लगाउन दिने व्यवस्था गरिएको बताउनुभयो ।

हरेक कोठालाई पाहुना गएपछि सरसफाई, सेनिटाइजेसन गर्ने र आउने पाहुनालाई बस्न योग्य बनाउने कार्य समेत प्रायः होटलहरुले गरेका छन् । कर्मचारीहरुलाई पूर्णरुपमा स्वास्थ्य सुरक्षा सामग्री लगाएर पाहुनाको सेवामा सर्मपित हुन व्यवस्थापन पक्षले निर्देशन जारी गरेको समितिले जनाएको छ ।

होटल व्यवस्थापनले स्वदेशी पाहुनालाई आर्कषित गर्न आफुखुसी न्यूनतम १० देखि २० प्रतिशतसम्म छुट दिने जानकारी आएको पर्यटन विकास समितिका अध्यक्ष गुरुङको भनाई छ ।

यो वर्षको पर्यटकीय आउने मुख्य समयमा नै कोरोना भाइरसका कारणले विश्व आक्रान्त बनेपछि यहाँको पर्यटन गतिविधी पनि ठप्प छ ।

होटल सञ्चालक भन्छन्र्, यस बर्ष कोरोनाका कारण चार तारेदेखि साना होटल, रिर्सोटका करिब एक हजार कोठामा बस्ने पाहुना भएनन् , ६७ वटा होटल र रिर्सोटमा कार्यरत एक हजार ३ सय जना कर्मचारी बेरोजगार भए । ’भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डनदेउपुर नगरपालिका भू–भागमा बनेका होटल र रिर्सोट बन्द भएसँगै कर्मचारी र होटल मजदुरको दैनिकी सकसपूर्ण बनेको छ ।

बैंकबाट ऋण लिएर पर्यटन व्यवसाय सुरु गरेकाहरुको अवस्था झनै कष्ठकर भयो, एकातिर होटलको सरसफाइ र अर्कातिर कर्मचारीलाई धान्न मुस्किल भएको होटल मेरीगोल्डका संचालक गोकुल लामिछानेले बताउनुभयो ।

अहिले पनि कोभिडको त्रास बाँकी नै रहेकाले बाह्य देशका पर्यटक आउने अवस्था नभएकाले अझै दुई वर्ष पर्यटन व्यवसाय समस्यामा हुने देखिन्छ, लामिछानेले भन्नुभयो ।

तारेदेखि साना गरेर ६७ वटा होटल सञ्चालन गर्ने व्यवसायीलाई बन्दले निकै असर गर्यो । करिब चार हजार मानिसलाई रोजगारीका कारण प्रत्यक्ष असर पुग्यो’ होटल मिस्टीक माउण्टेनका सञ्चालक धिरज तामाङ्गले भन्नुभयो ।

यति बेला विगतका वर्षमा जस्तो भए पर्यटकीयस्थल नगरकोटमा आन्तरिक र बाह्य पर्यटकको घुईंचो हुन्थ्यो । पछिल्लो समय नगरकोटका होटलहरुमा योग्यताका आधारमा स्थानीयहरुले नै काम पाएका थिए । अर्कोतर्फ मण्डनदेउपुर नगरपालिकाको देउपुर, सल्लेबास, रानीबन, गैरीगाउँ, हलेदे, ढाडागाउँ किसानका कृषिजन्य उत्पादन नगरकोटमा बिक्रि हँुदै आएको थियो ।

भक्तपुरको चाँगुनारायण, काभ्रेको बनेपा साथै काठमाडौँको शंखरापुर नगरपालिका किसानहरुको कृषि र पशुजन्य उत्पादन नगरकोटका होटलमा बिक्री हुने गरेको थियो । नगरकोटमा पर्यटनको विकास भएको लामो समय भएपनि त्यसको संस्थागत विकाश अझैं हुन् सकेको देखिदैन् । राजधानी नजिकको गन्तव्य भएरपनि समयमै भक्तपुर नगरकोट सडकको काम नसकिदा व्यवसायमा ठुलो असर परेको छ ।

नगरकोट क्षेत्रलाई पर्यटनको हवको रुपमा विकास गर्न सके चाँगुनारायण नगरपालिका भक्तपुर, मण्डनदेउपुर र बनेपा नगरपालिका काभ्रे र शंखरापुर नगरपालिका काठमाडौंसम्मलाई यस क्षेत्रको पर्यटन विकासले अप्रत्यक्ष प्रत्यक्ष रुपमा अहिले पनि लाभ पुग्ने होटल क्लब हिमालयका जनसम्पर्क प्रमुख रोहित मोक्तानको भनाई छ ।

प्राकृतिक सौन्दर्यले भरपुर नगरकोटमा मानव निर्मित थप पर्यटकीय संरचना बनाउन सके पर्यटकको केही दिनको बसाई लम्बाउन सकिने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button