दुई हजार सात सय २२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए

काठमाडौं । आज काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ तथा ललितपुरमा १ सय ६२ जना गरी उपत्यकामा १६ सय ३८ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी अनुसार आज देश भरिमा १४ हजार ७ सय ३९ वटा नमूनाको रियल टायम पिसिआर परीक्षण गर्दा ९ सय ६५ जना महिला र १ हजार ७ सय ५७ जना पुरूष गरी जम्मा दुई हजार सात सय २२ जना नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौ उपत्यका बाहिरका मोरङ, मकवानपुर, बाँके, रुपन्देही तथा सुर्खेतमा समेत संक्रमणको दर उच्च रहेको छ ।
मन्त्रालयका अनुसार आज मोरङमा १ सय ५०, सुर्खेतमा १ सय २२, रुपन्देहीमा ९२, बाँकेमा ७०, तथा मकवानपुरमा ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी आज एकैदिन ३ हजार ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म ६० हजार ६ सय ९६ जना संक्रमण मुक्त भएको र संक्रमण मुक्त हुने दर ७३ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै कोरोना संक्रमणबाट आज ४ महिला र ७ पुरूष गरी थप ११ जनाको मृत्यु भएको छ ।
आज भक्तपुरका २ तथा काठमाडौ र सुर्खेतका १–१ जना महिला एवं बाँके र ललितपुरका २–२ तथा मोरङ, मकवानपुर र रुपन्देहीका १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्