पाग्मा, डोप्कासँगै दुबिचौरमा पहिलो पटक विद्युत पुग्यो

सुर्खेत । विकासले पछाडि परेको पश्चिम सुर्खेतका पाग्मा, डोप्कासँगै दुविचौरमा पहिलो पटक विद्युत पुगेको छ ।
ग्रामीण विकासका लागि महत्वपूर्ण मानिएको ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेतले ११ केभीए विद्युतप्रसारण लाइन बराहताल गाउँपालिका–२, का पाग्मा, डोप्कासँगै दुबिचौरका साढे तीन सय घरधुरीमा विद्युत पुर्याएको हो ।
युगौंदेखि अँधेरी रात बिताउँदै आएका त्यस क्षेत्रका बासिन्दाले पहिलो पटक विद्युतको उज्यालो घरको आँगनमै देख्न पाउँदा आफुलाई गौरवान्वित महसुस गरेका छन् ।
लामो समयको पर्खाइपछि गाउँ पुगेको विद्युतको उज्यालो हेर्न आउनु भएका स्थानीय भीमबहादुर साउदले भन्नुभयो, ‘हाम्रा पुर्खाले दियालो बालेर दिन बिताए, माहीले टुक्की, लालटेन हुँदै सोलर बालेर अँधेरी रात कटाएका थियौं । सरकारले गाउँमा ११ केभीए विद्युतप्रसारण लाइन पुर्याइदिएपछि सपनामा पनि नसोचेको खुशीले गद्गद् छौं ।’
उहाँले गाउँमा विद्युत पुगेसँगै अब कुटानी, पिसानी एव) सिंचाइमा ठूलो सहयोग पुग्ने अपेक्षा राख्नुभयो । उहाँका अनुसार विद्युतको उज्यालोबाट गाउँघरका बालबालिकाकालाई अध्ययन मात्र नभई इमेल, इन्टरनेटसँगै जोडिने अवसर उपलब्ध हुनेछ ।
बराहतालका पाग्मा, डोप्का, सिस्नेरी, दुबिचौरमा लागु गरिएको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत ११ केभीए विद्युत लाइन ट्रान्सफर जडानसँगै विद्युत उद्घाटन गर्न पुग्नु भएका कर्णाली प्रदेश सभा सांसद विन्दमान बिष्टले लामो समयको पर्खाइपछि गाउँमा पुगेको ११ केभीए विद्युत प्रसारण लाइनबाट नागरिकको जीवनस्तरमाथि उकास्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु्भयो ।
पश्चिम क्षेत्रको विकास लागि आफु प्रतिवद्ध रहेको भन्दै गाउँमा विद्युतसँगै इमेल, इन्टरनेट एवं सडक पहुँचको विस्तारलाई तीव्र पारिने उहाँले प्रतिबद्धता गर्नुभयो ।

‘पश्चिम सुर्खेतका ९० प्रतिशत जनताले अहिलेसम्म विद्युत उपभोग गर्न पाएका छैनन्,’ उहाँले भन्नुभयो, ‘आफ्नो निर्वाचन क्षेत्रका सबै गाउँहरुमा विद्युत पहुँच विस्तारका लागि निरन्तर प्रयासरत रहेकाले अब छिट्टै जनअपेक्षाहरु पुरा हुनेछन् ।’
उहाँले नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुलाई नागरिकको माग अनुरुप पर्याप्त सेवा सुविधा विस्तारमा कुनै कमि नराख्न समेत अनुरोध गर्नुभयो । यसअघि पश्चिम सुर्खेतका केही स्थानीय तहका टोलहरुमा स्थानीय नागरिककै लगानीमा विद्युत विस्तार भएपनि अब सरकारी लगानीबाटै विद्युत विस्तार गरिने उहाँको भनाइ छ ।
पाग्मा, डोप्का, सिस्नेरी, दुबिचौर ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत लाइन विस्तार गर्न चामुण्डा निर्माण सेवा सुर्खेतले २०७६ बैशाख २६ गते करिब एक करोड ६५ लाख ४० रुपैयाँको लागतमा निर्माण सम्झौंता गरेको थियो । सम्झौंता अनुसार १३ महिना भित्रै सक्नु पर्ने उक्त विद्युत प्रसारण लाइनको काम कोरोना महामारीलगायतका कारण तीन महिना ढिलो गरी सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखा प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो ।
उहाँले गत असार २६ गते नै सम्पन्न हुनु पर्ने विद्युत प्रसारण लाइनको काम कोरोना महामारीका कारणले निर्माण सामाग्रीलगायतको सहज आपूर्ति तथा व्यवस्थापन नहुँदा ढिलाई भएको बताउनु्भयो ।
‘वषौंदेखि अँधेरीमा रात बिताइरहेका ग्रामीण बस्तीहरुमा बिद्युत पहुँच पुगेसँगै आर्थिक गतिविधिहरु बढेर नागरिकको दैनिकीलाई सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘अब केही दिनमै गाउँका सबै घरहरुमा विद्युत मिटर जडान कार्यलाई तीव्रता दिइने छ ।’
उहाँले आगामी तीन वर्षभित्र जिल्लाका सबै वडा र टोलमा विद्युत विस्तार गरिसक्ने योजना अगाडि सारेको बताउनुभयो । ‘विद्युत सेवाको पहुँचबाट पश्चिम सुर्खेतका गाउँहरु पछाडि परेका छन,’ उहाँले भन्नुभयो, ‘एक्लै विद्युत प्राधिकरणले मात्र केही गर्न नसक्ने हुँदा यसको समाधानको लागि स्थानीय, प्रदेशसँगै केन्द्र सरकारको सहयोग अपरिहार्य रहन्छ ।’
उहाँले ग्रामीण क्षेत्रमा नागरिकको मागअनुरुप विद्युत सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नै ग्रामीण विद्युतीकरण कार्यक्रम लागु गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्