तपाईँ सुन्दै हुनुहुन्छः

सुनुवाइ नसकिएपछि वामदेव गौतमविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दै

काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय बदर गर्न र मन्त्री नबनाउन परेको रिटमाथिको सुनुवाई नसकिएपछि आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

विपक्षी गौतमका तर्फबाट बहस नसकिएपछि आजको इजलासले गौतमविरुद्दको सुनुवाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत सम्मिलित संवैधानिक इजलासले आज विपक्षीका तर्फबाट पूर्व महान्यायधिवक्ता युवराज संग्रौला, राघवलाल बैध र बरिष्ठ अधिवक्ता शेरबहादुर केसीको बहस सुनेको थियो ।

जबरासहित दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडाको संबैधानिक इजलासमा मुद्दाको बहस नसकिएपछि अर्को इजलासमा हेर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले असोज ५ गते दर्ता गर्नुभएको सो रिट संवैधानिक इजलासमा सरेपछि यसअघि बुधबारको इजालसले पनि ‘हेर्दाहेर्दै’मा राखेको थियो ।

गौतमविरुद्धको सो मुद्दामा यसअघि ‘गम्भीर संवैधानिक व्याख्या’को प्रश्न उब्जिएको भन्दै न्यायाधीश आनन्दमोहन भट्टराइको इजलासले संवैधानिक इजलासबाट टुंग्याउन आदेश दिएको थियो । सोही इजलासले गौतमलाई ‘थप संवैधानिक जिम्मेवारी दिने लिने कार्य नगर्नु। नगराउनू’ भन्ने आदेश समेत दिएको थियो ।

रिटमा गौतमलाई राष्ट्रिय सभा सदस्य हुन अयोग्य रहेको कारण उहाँलाई मनोनयन गर्ने सरकारको निर्णय खारेजीको मागसमेत गरिएको छ ।

नेकपाले गौतमलाई २९ भदौमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । त्यसैअनुरूप मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई गौतमले शपथसमेत लिइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button