लक्ष्मी माविका शिक्षक र कर्मचारी आन्दोलित, विद्यालयमा तालाबन्दी

बाँके । आफूहरूलाई जिम्मेवारीबाट हटाउन खोजिएको भन्दै लक्ष्मी मावि बर्दहवाका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । कोहलपुर नगरपालिका २ मा रहेको लक्ष्मी माविमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरू आन्दोलित भएका हुन । आन्दोलित शिक्षकहरूले बिहीबार विद्यालयको मुख्य गेटमा तालाबन्दी समेत गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक बद्री सापकोटाका अनुसार भदौ २९ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयमा निजी स्रोतमा कार्यरत ११ जना शिक्षक र ६ जना कर्मचारीलाई तलब नखुवाउने निर्णय गरेको थियो । कोरोनाका कारण जारी गरिएको बन्दाबन्दीका कारण विद्यालयको सम्पूर्ण आयस्रोत ढप्प भएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निजिस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब नखुवाउने प्रस्ताव ल्याएको र सोही प्रस्ताव बहुमतले पारित भएको सापकोटाले बताए ।
आफु भने उक्त प्रस्तावको विपक्षमा रहेको उनले जिकिर गरेका छन् । आफु र अन्य २ जना सदस्यहरु उक्त निर्णयको विपक्षमा रहे पनि ९ सदस्यीय व्यवस्थापन समितिका ६ जना सदस्यहरूको बहुमतका आधारमा उक्त निर्णय भएको सापकोटाले बताएका छन् । उक्त निर्णयबाट रुष्ट भएका शिक्षक तथा कर्मचारीहरूले निर्णय सच्याउनुपर्ने र आफूहरूलाई बेतलबी राख्न नपाइने भन्दै विद्यालयमा ज्ञापन पत्र समेत बुझाएको प्रअ सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्