यातायात नीतिका कारण व्यवसायीहरु मारमा परेको व्यवसायीहरुको गुनासो
वीरगंज । झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात हाल संचालनमा आए पनि सरकारले लागु गरेको यातायात नीतिका कारण आफूहरु मारमा परेको वीरगंजका यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।
व्यवसायीहरुले सार्वजनिक यातायातमा आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्थाले व्यवसायी र सर्वसाधारण यात्रु दुवैलाई मारमा पारेको नारायणी यातायात बस व्यवसायी संघका पूर्व अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो ।
जय माता दी यातायात सेवा प्रालिका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले कोभिड–१९ को महामारीले थलिएको सार्वजनिक यातायात क्षेत्रलाई थप पीडित बनाउने निर्णयहरु खारेज गर्न माग गर्नु भयो । श्रेष्ठले यातायात धनी र यात्रुलाई अन्याय हुने गरी आधा सिट मात्रै यात्रु राख्ने र ५० प्रतिशत बढी भाडा लिने निर्णय प्रति गुनासो गर्दै यातायात क्षेत्रमा साविककै व्यवस्था लागू गर्न माग समेत गर्नु भयो ।
उहाँले दशैंमा यात्रुको आवागमन सुरु अघि घोषित व्यवस्था खारेज गर्न सरकारलाई आग्रह समेत गर्नु भयो । श्रेष्ठले आधा सिटमा मात्रै यात्रु राख्ने व्यवस्थाले लामो दुरीका सार्वजनिक सवारीले सञ्चालन खर्च पनि उठाउन नसक्ने बताउदै हाल आफूहरुले ६ महिना थन्किएका बसलाई चुस्त बनाउन घाटा सहेरै भएपनि संचालन गरेको दावी गर्नु भयो ।
यता आन्तरिक वायुसेवा दिने विमानहरुलाई सरकारले सिटभरि यात्रु बोक्न छुट दिनु र बसहरुले मात्रै आधा सिटमा यात्रु बोक्नुपर्ने नियम विरोधाभाषपूर्ण भएको व्यवसायीको ठहर छ ।
वीरगंजका अर्का यातायात व्यवसायी भानु अधिकारीले आन्तरिक वायुसेवा र बसमा पूर्ण क्षमतामा यात्रु चढाउनु बीच कुनै अन्तर नभएको बताउनुभयो । आन्तरिक हवाई उडानमा यात्रुबीच दूरी समस्या नहुने तर बसमा हुने किन भन्नु हुदै अधिकारीले विमानमा अपनाउनु पर्ने मापदण्ड बसमा पनि पालना गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
यातायात व्यवसायी अधिकारीले सरकारले बीच बाटोमा यात्रु हाल्न नपाउने नियम बनाउनुपर्ने र त्यसमा कडाइ गर्नुपर्ने माग समेत गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्