तपाईँ सुन्दै हुनुहुन्छः

झापा कारागारमा कोरोना फैलिएपछि कैदीबन्दी त्रसित

भद्रपुर, झापा । झापा कारागारमा एकैचोटि सातजना कैदीबन्दी र त्यहीँ कार्यरत दुई प्रहरी र एक कर्मचारीमा एकैपटक कोभिड–१९ को संक्रमण पुष्टि भएपछि त्यहाँका कैदीबन्दी त्रसित बनेका छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकोले कोरोनाको त्रास बढेको कैदीबन्दीहरुले बताएका छन् ।

एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेकोले त्रास अझ बढेको आन्तरिक प्रशासन प्रमुख मोहन धितालले बताउनु भयो ।

गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रवार सातजना थपिएसँगै झापा कारागारमा संक्रंमित कैदीबन्दीको सङ्ख्या आठ पुगेको छ । उनीहरूको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भयो ।

राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो उपाय अवलम्बन नगरिँदा कैदीबन्दीले असुरक्षित महसुस गरेको धितालको भनाइ छ ।

कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गर्नुभयो ।

झापा कारागारका प्रमुख राजेन्द्र गौतमले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रूपमा सञ्चालन गर्ने तयारी भइरहेको  जानकारी दिनु भयो  ।

३५० अँटाउने क्षमताको झापा कारागारमा हाल ८२ महिला र १०६१ पुरुष गरी ११४३ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button