बारा,पर्सा र रौतहटका थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा बारा, पर्सा र रौतहटका थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षणको पछिल्लो विवरण अनुसार एक सय ९२ जनाको थ्रोट स्वाब परिक्षण गर्दा पर्सामा २३, बारामा तीन जना र रौतहटमा एक जना गरी थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
पुष्टि भएका २७ जना सङ्क्रमितमध्ये १० महिलासहित ८ वर्षीय बालकदेखि ७४ वर्षीय वृद्धसमेत रहेको अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।
पर्सामा सङ्क्रमित पुष्टि भएकाहरुमा कालिकामाई गाउँपालिकाको वडा नम्बर १ मा मात्र एघार जना रहेका छन् । त्यसपछि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ मा तीन, वडा नम्बर १४ मा दुई र वडा नम्बर २, १०, २५ र २७ मा एक÷एक जना गरी नौ जना सङ्क्रमित थपिएको डा.चौरसियाले बताउनुभयो ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ र बहुदरमाई नगरपालिका वडा नम्बर ७ मापनि एक÷एक जनामा सङ्क्रमण देखिएको छ । पर्साका एक सय ६६ जनाको थ्रोट स्वाब परिक्षण गरिएको थियो ।
यता बाराको फेटा गाउँपालिका, बारागढी गाउँपालिका र परवानीपुर गाउँपालिकाका बासिन्दामापनि संक्रमण पुष्टि भएको छ । तिनै पालिकाहरुमा एक/एक जना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले जानकारी दिनुभयो ।
रौतहटका एक जनामा पनि सङ्क्रमित पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३४ सम्म रहेको डा. चौरसियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्