नेपालगन्ज भन्सारको राजश्व बृद्धि

बाँके । लकडाउनका कारण भारतको रुपईडिहा, नानपारालगायतका बजारबाट क्यारिगंबाट आउने सामान बन्द रहेको छ ।
चोरी नाकाका छिटफुट गरी प्रयोग भइरहे पनि धेरै जसो सामाग्री भन्सार हुँदै आएका छन् । जसको प्रत्यक्ष फाइदा राजश्व बृद्धिमा भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले अहिलेसम्मकै बढि राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना कालकै बिचमा समेत भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा भन्सार कार्यालयले एक अर्ब ६८ करोड राजश्व संकलन गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाका अनुसार श्रावण महिनामा ९४ करोड ७५ लाख ६ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ७३ करोड २५ लाख अर्थात १७७ दशमलव १५ प्रतिशत बढि राजश्व संकलन भएको हो ।
उहाँले सीमा नाका बन्द भएपनि भन्सार कार्यालयले दैनिक रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गरिहेको बताउनुभयो । पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चापदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनक रुपमा राजश्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख निरौलाले दावी गर्नुभयो ।
बन्दाबन्दीका कारण लामो समयसम्म बन्द रहेका उद्योगधन्दा सञ्चालनमा आएसँगै राजश्व संकलनमा बृद्धि भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, यसका अलावा बन्दाबन्दीको समयमा सीमा नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण भएकाले समेत राजश्व संकलन योगदान पुगेको हो । उहाँका अनुसार नेपालगन्ज भन्सारबाट औद्योगिक कच्चा पदार्थका अलावा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रने गरेका छन । तर फलफुल तथा तरकारी जन्य पदार्थ र मानिसहरुको आवागमनमा भने पूर्ण्रुपमा रोक लगाइएको प्रमुख निरौलाले जानकारी दिनुभयो ।
नेपालगन्ज भन्सार कार्यालयबाट भदौ महिनामा पनि राजश्व संकलन बृद्धि भएको छ । नेपालगन्ज भन्सारमा भाद्र महिनाको राजस्व संकलन लक्ष्य– एक अर्ब छ करोड रहेकोमा एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएकोे छ ।








प्रतिक्रिया राख्नुहोस्