तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दसैँ तिहार अघि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध

बाँके । बाँकेमा तत्काल शैक्षिक क्षेत्रहरु सञ्चालनमा ल्याउन नपाइने भएको छ ।

यहाँका स्थानीय तहहरुले क्रमशः शैक्षिक क्षेत्र खुलाउने तयारी थालेका थिए । तर आइतबार शिक्षा विकास तथा समन्वय इकाई बाँकेले एक सूचना जारी गरेर तत्काल शैक्षिक क्रियाकलाप सञ्चालनमा रोक लगाएको हो ।

कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द भएका शैक्षिक क्षेत्रहरु अझै सञ्चानलमा आउन सकेका छैनन् ।

बाँकेका स्थानीय तहहरुले शैक्षिक क्षेत्र सञ्चालनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हस्तक्षेप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र सञ्चालन गर्ने उल्लेख भएको शिक्षा विकास तथा समन्वय इकाइले जारी गरेको सूचना भनिएको छ ।
‘बाँके प्रशासनले असोज १ गते जारी गरेको सूचना अनुसार गर्न गराउन स्थानीय तहहरुलाई अनुरोध गरेका छौं’ इकाई प्रमुख राम सुरेश यादवले भन्नुभयो, ‘प्रशासनले विद्यालय सञ्चालनको लागि निर्णय नगर्दासम्म बन्द नै हुन्छन् ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सरकारको नै शैक्षिक क्षेत्रहरु सञ्चालनमा तत्काल नल्याउने निर्णय गरेको जानकारी दिनुभयो ।

‘गत भदौं २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिक क्षेत्र सञ्चालन नगर्ने निर्णय गरेको थियो’ उहाँले भन्नुभयोे, ‘हामीले उक्त निर्णय मात्र कार्यान्वयनमा ल्याएका हौं । आफै निर्णय गरेका होइनौं ।’

बाँकेमा कोरोनाको जोखिम कम नभएकाले विद्यालय सञ्चालन गर्दा अझै सङ्क्रमण फैलिन सक्ने प्रजिअको भनाई रहेका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button