पहिराका कारण सेलाङका ८८ बढी घरपरिवार उच्च जोखिममा
सिन्धुपाल्चोक । भारी वर्षाका कारण जुगल गाउँपालिका १ सेलाङमा स्थानीयका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् ।
पहिरोको क्षति मुल्यांकनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दा बढी स्थानीय पहिरोको जोखिममा परेको जुगल गाउँपालिका १ का वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
वडाध्यक्ष थापाका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिरोले घर गोठमा क्षति तथा स्थानीयलाई जोखिममा पारेको छ ।
बाँधसिम्लेमा गोठ पुरिँदा स्थानीय कमलबहादुर थापाको भैँसी समेत पुरिएको छ । कतै घर बग्न लागेका छन्, कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा स्थानीय पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्तसँगै घर नै जोखिममा परेको छ ।
काल्चेका ४ घर क्षति भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा ६ घर उच्च जोखिममा छन् । ३० भन्दा बढी घर परिवार बस्ने सेपगाउँ नै पहिरोको कारण उच्च जोखिममा छ । कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि २ घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।
सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन ।
पहिरोबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकोले उनीहरुलाई तत्कालका लागि गाउँपालिका बाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ । संकटको अवस्थामा वडाभित्रका सरकारी भवन संचनामा बस्न स्थानीयलाई अनुरोध गरिएको थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्