तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाएका रामारोशन क्षेत्रका८ झाेलुङ्गे पुलको डिपीआर तयार

अछाम । अछामको रामारोशन गाउँपालिका क्षेत्रमा बाढीले बगाएका ८ वटा झोलुङ्गे पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ ।

गत भदौ २ गते आएको विनाशकारी बाढीले बगाएका पुलहरूको पुन निर्माण तथा मर्मतका लागि डीपीआर तयार पारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ओडाचाम्ला झोलुङ्गे पुल, उनिरवा झोलुङ्गे पुल, जिङ्नेरावा झोलुङ्गे पुल र जातताेला झोलुङ्गे पुल र शान्तडा झोलुङ्गे पुल गरी पाँच ओटा झोलुङ्गे पुलको डीपीआर तयार गरिएको गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले जानकारी दिनुभयो ।

यसैगरी छाप्रिञ्ज झाेफुंगे पुल, बल्लेखाेला झोलुङ्गे पुल र मुजाबगर माम्ता झोलुङ्गे पुल गरी ३ वटा झोलुङ्गे पुलहरूको मर्मतको लागि समेत डिजाइन स्टमेट गरिएको छ ।

पुलहरूको पुनः निर्माण तथा मर्मतको लागि उपभोक्ता समिति गठन गरेर काम तीव्र रूपमा अगाडी बढाउने अध्यक्ष साउँदले बताउनुभयो ।

८ वटा झोलुङ्गे पुल मध्य ५ वटा पूर्ण रूपमा बगाएकाले पुरै निर्माणका लागि डीपीआर तयार गरिएको छ भने ३ पुलमा केही कम क्षति भएका कारण मर्मत गरिने अध्यक्ष साउँदकाे भनाइ छ ।

डीपीआर तयारका लागि आएको प्राविधिक सहितको टाेलीलाई अध्यक्ष साउदले मङ्गलवार बिदाइ समेत गर्नुभएको छ । अब झोलुङ्गे पुल छिटो मर्मत गरेर काम अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । झोलुङ्गे पुल बगाएका कारण आवतजावत गर्न, खेतीवारिको काम गर्न, मेलापात गर्न लगायतका काममा स्थानीयले सास्ती भोग्दै आई रहेका छन् ।

भदौ २ गते राति कैलाशखाेलामा आएको बाढीले अछामको रामाराेशन ५ मा रहेकाे सैनिबजार बगाउँदा १७ जना बेपत्ता भएकोमा ८ जनाकाे शव प्राप्त भएको र अझै ९ जना हराई रहेका छन् । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बाेलेराे जिप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल, सयाैँ रोपनी खेतबारी बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button