आज १४ सय ५९ संक्रमित थपिए, उपत्यकामा मात्रै ६ सय ७६
काठमाडौं । नेपालमा आज कोरोना भाइरसका १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १० हजार ३ सय ७५ वटा नमूना परीक्षण गर्दा १ हजार ४ सय ५९जनामा संक्रमण पुष्टिभएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको कूल सख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
आज ५२ जिल्लाका ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको काठमाडौ उपत्यकामा आज काठमाडौका ५ सय ५५ जना, भक्तपुरका ८६ जना र ललितपुरका ३५ जना गरी जम्मा ६ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् ।
आज थप १ हजार ६२ जना संक्रमण मुक्त भएका छन् ।
हाल सम्म ४० हजार ६ सय ३८ जना संक्रमण मुक्त भएको र निको हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।
यसैगरी आज विभिन्न ७१ जिल्लामा गरी १५ हजार ७ सय ७९जना संक्रिय संक्रमित रहेका छन् भने ६ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित मध्ये ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसन तथा ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् ।
यसैगरी गम्भिर लक्षण भएका १ सय ७४ जना संक्रमितको आईसियुमा र २८जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै आज थप ११ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौका ३ पुरूष र एक महिला गरी ४ जनाको मृत्यु भएको छ ।
यसैगरी बाराका १ महिला र १ पुरूष गरी २ जना तथा रुपन्देही र सिराहाका १–१ जना महिलाको मृत्यु भएको छ भने सर्लाही, मकवानपुर र कपिलवस्तुका १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो संंगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
मन्त्रालयले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि बढ्दै गएको आवागमन र चहल–पहलले संक्रमणको जोखिम झनै बढेकोे हुनाले थप सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले पछिल्ला केही दिनको तथ्याङ्कले सहरी क्षेत्रमा संक्रमण तथा मृत्युको दर बढ्दै गएको देखाएको हुनाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
प्रवक्ता प्रा. डा. गौतमले कोरोनाका सम्वन्धमा फैलिएका भ्रामक समाचारले बालबालिकाहरूमा नकारात्मक प्रभाव पर्न गई विभिन्न मानसिक समस्या समेत देखिन सक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई सत्य तथ्य र प्रमाणित सूचनाहरू मात्रै उपलब्ध गराउन अभिभावकहरूलाई आग्रह समेत गर्नुभयो ।
प्रवक्ता प्रा. डा. गौतमले स्वस्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रस्थानमा खटिने कर्मचारीको परीक्षण गर्ने सरकारको नीतिमा कुनै परिवर्तन नभएको समेत स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्