चिकित्सकलाई सम्पर्कमा आउन मन्त्रालयको आग्रह
रासस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पकमा आउन आग्रह गरेको छ ।
मन्त्रालयले सरकारी स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई पाँच दिनभित्र सम्पर्कमा आउन अनुुरोध गरेको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा.पवनजङ्ग रायमाझीले जानकारी दिनुुभयो ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तह अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार मन्त्रालयले सम्पर्कमा आउन अनुुरोध गरेको हो ।
यसैबीच मन्त्रालयले केही दिनअघि स्वयंसेवकका लागि आवेदन माग गरेकोमा करिब दुई हजार स्वास्थ्यकर्मीले कोभिड–१९ को रोकथाम र उपचारका लागि आवेदन फाराम भरेको मन्त्रालयले जनाएको छ ।
उहाँका अनुसार आवेदन फारम भरेका स्वयमसेवकलाई उनीहरुले रोजेको ठाउँमा गई अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्यारेन्टिनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन् ।
मन्त्रालयले ईच्छुक चिकित्सक, नर्स, प्यारमेडिक्सलगायत स्वास्थ्यकर्मी र सेवानिवृत स्वास्थ्यकर्मीलाई स्वयमसेवकको रुपमा काम गरी कोभिड–१९ को नियन्त्रण गर्न आवह्वान गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्