तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा कालोपत्र गर्ने सडक अलपत्र

पर्वत । कोरोना भाईरसको महामारीका कारण भारत तथा तराईबाट कामदार आउन नपाउँदा कालोपत्रे गर्न ठिक्क पारिएका पर्वतका सडकको काम रोकिएको छ ।

मजदुर नहुँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर सहित ९ वटा सडकको काम रोकिएको छ । ग्रामीण क्षेत्रका सडक सहित सदरमुकाम कुश्माको भित्री सडक र वाहिरी चक्रपथको कालोपत्र गर्ने काम पनि अलपत्र अवस्थामा रहेको छ ।

पर्वतमा कोरोनाको प्रभाव न्यून छ । तर, चैत ११ गतेदेखि गरिएको लकडाउनले यहाँका आयोजनामा कार्यरत मजदूरहरु घर फर्किएका पुन ः काममा फर्किन पाएका छैनन् ।

कालोपत्रको सीप भएका कामदार भारतीय नागरिक छन् । गत आर्थिक वर्षभित्रै सक्ने गरी सम्झौता भएका ९ सडक कालोपत्रे हुन नपाएर रोकिएका छन् । मध्यपहाडी लोकमार्गको २४ किलोमिटर, कालीगण्डकी करिडोरको ७ किलोमिटर, चिसापानी–हुवास १० किलोमिटर, कुश्मा–दुर्लुङ ५ किलोमिटर, सिल्मी–कार्कीनेटा साढे ५ किलोमिटर कालोपत्रेको अन्तिम चरणमा थिए ।

यी सबै सडकमा व्यवसायीले कालोपत्रे गर्ने तयारी अवस्थामा राखेका थिए । तर, सडकका काम अहिले बिचमै रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा सकिने सबैजसो योजनाको कम्तिमा ६ महिना म्याद थप गरिएको छ । कामदार ल्याउन प्रसासन संग समन्वय भैरहेको आचार्यले बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहसम्म पुग्ने सडक कालोपत्रे गर्न अघिल्लो वर्षदेखि संघ, प्रदेश र स्थानीय तहले करोडौं रुपैयाँ बजेट विनियोजन गरेका थिए । पूर्वाधार विकास कार्यालयका अनुसार चालु वर्ष कालोपत्रेको चरणमा मात्रै ४३ वटा सडक छन् ।

ती सडकका लागि संघ, प्रदेश र स्थानीय सरकारको करिब १ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरै बजेट छ । यो बजेट अघिल्लो र यो वर्ष निर्माणाधीन सडकमा पूर्वाधार विकास कार्यालयबाट खर्च भइरहेको छ । सडक कालोपत्रेका लागि मात्रै विनियोजित यो बजेट मुख्य काम नभएकै कारण उपलब्धिविहीन हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button