तपाईँ सुन्दै हुनुहुन्छः

वार्षिकोत्सव खर्च ढोरपाटनका बाढी पीडितलाई

गलकोट-बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि रु एक लाख ५१ हजार १५१ आर्थिक सहयोग गरिएको छ ।

आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग सङ्कलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो । यही भदौ १७ गते राति भुजी खोलाको बाढीले तटीय बस्ती बगाउँदा ठूलो जनधनको क्षति भएको थियो ।

बाढीमा परेर हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने २२ जना अझै वेपत्ता छन् । बाढीका कारण ८० घर पूर्णरूपमा क्षति भएका छन् । संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ साविक धौलागिरि क्षेत्रकै पहिलो सञ्चार सहकारी हो ।

विसं २०६३ मङ्सिरमा स्थापना भएको संस्थाले हाल धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । पहिलो वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरी यसमा लाग्ने खर्चबापतको रकम संस्थाका तर्फबाट र थप रकम संस्थाका परोपकारी मनबाट प्रेरित शेयर सदस्यहरुबाट सङ्कलन गरी एकद्वार प्रणलीमार्फत वितरण गर्नका लागि ढोरपाटन नगरपालिकाको खातामा जम्मा गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button