धारा निर्माणमा जुटे युवा
टीकापुर-बाढीका कारण खानेपानीका धारा डुबानमा परेपछि कैलालीको भजनीमा युवा धारा निर्माणमा जुटेका छन् । साउन १४ गते आएको बाढीले भजनीमा पानीका मुहानलगायत डुबानमा पर्दा पिउने पानीको समस्या टार्न युवा आफैँले रकम ङ्ंकलन गरी धारा निर्माण थालेका हुन् । भजनी–३ बर्दवाफाँटाका युवा रकम सङ्कलन गरी धारा निमार्णमा जुटेको स्थानीय पदमराज जैसीले बताउनुभयो ।
वडा नं ३ का २२ युवाले रु ४४ हजार सङ्कलन गरी धारा निर्माण गरिरहेका छन् । धारा बनाउन खर्च बढी लाग्ने भएकाले युवा स्वस्फूर्त व्यक्तिगत रुपमा रकम उठाएर धारा बनाउन थालेका स्थानीय रुपेश बुढाले बताउनुभयो ।
युवाले वडा नंं ३ मा तीन वटा धारा बनाउने योजना बनाएका छन् । डल्फिन क्षेत्रको नयाँ बस्तीमा एउटा र अर्को सबैलाई पायक पर्ने गरी हुलाकी सडक किनारमा बनाउने गरी काम थालेका छन् । ५५ फिटको धारा बनाउने भएकाले लागत अपुग हुने उनीहरु बताउँछन् ।
धाराको उपयोगिता र संरक्षणको लागि युवासँगै समुदाय धेरै जिम्मेवार हुने भएकाले धारा संरक्षणको जिम्मा समुदायलाई दिइने उनीहरु बताउँछन् ।
कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन् । बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये केही घर फर्किसकेका छन् । अझै करिब ३०० परिवार घर फर्कने वातावरण नभएपछि सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । भजनीका बाढी पीडितलाई छाक टार्नै मुश्किल भएको छ ।







प्रतिक्रिया राख्नुहोस्