तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ सरकारले थप आइसोलेसन केन्द्र सञ्चालन गर्ने

सुनसरी । प्रदेश १ सरकारले विराटनगरमा थप १ हजार बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

सिसिएमसिको भर्चुअल बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १ हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशीघ्र निर्माण गर्ने गरी अगाडि बढ्न निर्देशन दिनु भएको हो ।

प्रदेश भित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न समेत मुख्यमन्त्री राईले निर्देशन गर्नुभएको आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई प्रदान गरिएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

बैठकले प्रदेश भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदीलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड १९ को चेन ब्रेक गर्ने र नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वयात्मक रूपमा अगाडी बढ्ने नीति लिएको छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरूको लागि तोकिएको प्रवेश विन्दुहरूका अतिरिक्त पशुपतिनगर इलाम, रङ्गेली मोरङ, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु कायम गर्ने निर्णय समेत गरेको छ ।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुने कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button