तपाईँ सुन्दै हुनुहुन्छः

९५ बर्षको उमेरमा बृद्धले पाए नागरिकता


भोजपुर । ९५ बर्षको उमेरमा पहिलो पटक नागरिकता पाएका भोजपुर नगरपालिका वडा नम्वर २ हेलौछाका स्थानिय बृद्ध बीरबहादुर तामाङ निकै खुशी देखिनु भएको छ ।

१९८२ साल माघ १० गते जन्मिएका तामाङको हालसम्म नागरिकता बनेको थिएन । जिल्ला प्रशासन कार्यालय भोजपुरबाट पहिलो पटक नागरिकता पाएका तामाङले अव भने राज्यबाट पाउने सेवा सुबिधा समेत पाउने भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो । तामाङलाई प्रमुख जिल्ला अधिकारी पुरीले जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक लिएको नागरिकता हस्तान्तरण गर्नु भएको थियो ।

तामाङलाई वडा कार्यालयको सिफारिस तथा अधिकारकर्मीको पहलमा नागरिकता वितरण गरिएको हो । परिवारका अन्य सदस्य कोही नभएका तामाङ उमेर हुँदासम्म दैनिक ज्याला मजदुरीमा काम गर्दै आएको तर अशक्त भएपछि घरमै बस्दै आउनु भएको थियो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता नपाएका बृद्ध बृद्धालाई खोजी गरि नागरिकता प्रदान गर्दै आएको छ । यस अघि पनि जिल्ला प्रशासन कार्यालयले जनप्रतिनिधी, सामाजिक अभियन्ता लगायतको पहलमा ३ जनालाई नागरिकता प्रदान गरि सकेको छ ।

नागरिकता पाउनबाट बञ्चित तामाङलाई नागरिकता दिलाउँन भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, जिल्ला समन्वय समिति सदस्य रमा राई, वडा अध्यक्ष कुमार राई, सामाजिक अभियन्ता सुशिला तामाङ, सम्झना प्रधान, लगायतले पहल गर्दे आई रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button