ओरियन्स कम्पनीको करिब आठ लाखको सामानसहित ६ जना पक्राउ

भद्रपुर, झापा । भारतीय कम्पनी ओरियन्सको नेपालमा प्रतिबन्धित करिब ८ लाख मूल्य बराबरको सामानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा ओरियन्स कम्पनीका सामान नेपाल भित्र्याएको विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गबाट सोमबार अपराह्न ७ लाख ७६ हजार मूल्य बराबरको सामानसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सामान ओसारपसारमा प्रयोग गरेका तीन वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
ओरियन्स कम्पनी उल्लेखित विटग्रास डायट्री सप्लिमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ कार्टुन इलाका प्रहरी कार्यालय झिलझिलेले बरामद गरेको हो । सामानसहित पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिकाका २८ वर्षीय नगेन्द्र चौधरी र २६ वर्षीय शिवराम चौधरी, मोरङ ग्रामथान गाउँपालिकाका २३ वर्षीय सुरजकुमार चौधरी, २५ वर्षीय दीपक सिंह, २५ वर्षीय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षीय सुनिल विश्वास रहेको डिएसपी थापाले बताउनु भयो ।
नेपाली युवालाई आर्थिक प्रलोभन देखाएर भारतीय ओरियन्स कम्पनीका प्रतिनिधिले नेटवर्किङ मार्फत यस्तो धन्दा नेपालमा चलाउँदै आइरहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्