तपाईँ सुन्दै हुनुहुन्छः

रोग, किरा र लकडाउनले दोहोरो नोक्सानमा तरकारी किसान


जुम्ला । विदेशबाट फर्किएर व्यवसायीक तरकारी खेतीमा होमिएका तातोपानी गाउँपालिका २ का व्यवसायीक तरकारी किसान यस वर्ष दोहोरो नोक्सानी व्यहोर्न बाध्य भएका छन् । करिब १५ लाख बढीको लगानीमा २ हेक्टर जमिन लिजमा लिएर व्यवसायीक तरकारी खेती गरेका पाँचजना यूवा किसान यसवर्ष दोहोरो नोक्सानीमा परेका हुन् ।

२ हेक्टर जमिनमा लगाएको तरकारीमा विभिन्न रोग किरा र प्रकोपले राम्ररी फल्न सकेन् जती फलेको थियो लकडाउनले गर्दा बजारसम्म पु¥याउन नसकिएको यूवा व्यवसायीक किसान महेश डाँगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तिला अर्गानिक वाईल्ड एण्ड एग्रो” नामक कृषि फर्म दर्ता गरेर जिल्लामै व्यवसायी तरकारी खेती गरिरहेका छौ । क्वीईन्टलका हिसाबले बन्दा, आलु, मटर, प्याज, टमाटर, भ्यान्टा, फर्सी, गाँजर, लसुन लगायतका तरकारी उत्पादन पनि भईरहेको छ । तर जारी लकडाउनले गर्दा बजारीकरणमा समस्या आएपछि घाटा व्यहोर्नु परेको हो ।”

हप्तादेखि संकलन गरी थन्किएको १५ क्वीइन्टल बन्दा शनिवार धौधौले नेपालगन्ज पठाइएको यूवा किसान डाँगीले जानकारी दिनुभयो । उत्पादन भएको तरकारी बजारमा लिन नसक्ने समस्या त छदै छ । अर्का किसान पदम डाँगीले भन्नुभयोे, “दिनरात नभनी मेहनत गरेर खेतमा लगाएको गोलभेँडा, बन्दा, काउली, फर्सी लगायतका तरकारीमा रोग र किराले लागेर सखाप भएपछि कति तरकारी त उखेरलै फालेका छौ ।”

नत तरकारीमा लाग्ने रोग किरा नियन्त्रणको उपाय छ, नत तरकारी संकलन केन्द्रनै छन् । यसै वर्षबाट ठुलो लगानी गरेर तरकारी खेती शुरु गरियो, यसै वर्ष कोरोना महामारी फैलिँदा दोहोरोना नोक्सान व्यवहोर्न बाध्य भएको किसानहरुले दुखेसो गरेका छन् ।

केहि किरा लागेपनि उत्पादन भएको ताजा तरकारी समेत बजारमा पठाउन समस्या भएको छ । लकडाउन सदरमुकाम पुरै बन्द छ, पहिलाको जस्तो नेपालगन्ज, सुर्खेत, कालिकोट पठाउन सहज छैन् । बजारमा तरकारी अभाव बढ्दै गएको छ । यता उत्पादित तरकारी थन्किदै छ । तातोपानीमा तरकारी संकलन केन्द्र हुँदा ठुलो घाटा खानु परेको यूवा किसानले गुनासो गरेका छन् ।

लाखौको लगानी गरेर शुरु गरिएको व्यवसायीक तरकारी खेतीमा रोककिराले काप गर्दा स्थानीयतहले राहतको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । स्वदेशमै केहि गर्न खोज्दा पनि समयले साथ नदिँदा लगानी खेर जान सक्ने चिन्तामा किसान छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button