नाग्म पहिरो : एकै परिवारका ४ सहित १० जनाको मृत्यु (अपटेड)

जुम्ला । जुम्ला र कालिकोटको सिमाना नाग्मा बजारमा आइतबार गएको पहिरोमा परी मर्नेको सङ्ख्या १० पुगेको छ । पहिरोले एउटै घरका ४ सहित १० जनाको ज्यान गएको हो ।
मृत्यु्हुनेहरुमा पुर्णाका श्रीमान ४० वर्षीय प्रयाक शाही, ८ वर्षीय छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोरा अब्बल शाही छन् । त्यसै गरी तिला गुफा नगरपालिका १ का ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेक बहादुर दमाई र उनकै श्रीमती वर्ष २५ की छाड्नु दमाई र उनका छोरा वर्ष १० का गजेन्द्र दमाई रहेका छन् ।
यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो । पहिरोमा घाइते भएकी पुर्णा शाहीको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । अर्का घाइते अर्जुन हमाल सामान्य उपचारपछि फर्किएको छन् ।
पहिरो पन्छाउनेक्रम जारी रहेकोले अझै मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
कालिकोटका डिएसपी श्याम ओलिया पहिरो पन्छाउन जुम्ला र कालिकोटका सुरक्षाकर्मी खटिएको बताउनुहुन्छ ।
स्थानीय मुनविर कटुवाल,लाल नेपाली र विर परियारको घरको पहिरो पन्छाउने काम अझै जारी रहेको ओलियाले जानकारी दिनुभयो । तीनै वटा घरका सबै परिवारका सदस्य पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको शङ्का छ ।”
नाग्म बजारको माथि रहेका खेतहरूमा पानी छोडेपछि भिरालो जमिन भासिएर पहिरो आएको स्थानीयहरू बताउँछन् ।
कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण मानिसहरू घरभित्रै बसेको अवस्थामा पहिरो गएकोले ठुलो क्षति हुन पुगेको बताइन्छ ।
सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जुम्ला तथा कालिकोटबाट समयमै उद्धार हुन नसकेको स्थानीय मुनि बुढाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्