बालिघरे प्रथा कायमै
पाल्पा । पाल्पाका ग्रामीण भेगहरूमा बालिघरे प्रथा अझै पनि कायमै छ । काम गरे बापत पैसा वा नगदको साटो जिन्सी सामान दिनु र बर्षै भरी तोकिएको व्यक्तिको घरमा काम गर्ने चलनलाई बालिघरे प्रथा भनिन्छ । जिल्लाको रैनादेवी छहरा, रिब्दिकोट गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीहरूमा बालिघरे प्रथा अझै पनि कायमै छ । रिब्दिकोट गाउँपालिका ३ खस्यौलीका भैरम बिक उमेरले ८० वर्ष भएपनी पुरानो परम्परालाई नै निरन्तरता दिँदै आउनुभएको छ ।
रैनादेवी छहरा भुवनपोखरीका गङ्गाबहादुर विक आरनको काम गर्नुहुन्छ । उहाँले वर्ष भरिको आफ्नो पारिश्रमिक अन्नपात लिएर चित्त बुझाउनुहुन्छ । उमेरले ७१ नाघिसकेका विकले वर्षभरि गाउँका अन्य समुदायका व्यक्तिहरूको कोदालो लगायत कृषि औजार बनाए बापत प्रत्येक घरधुरीसँग ज्यालाको रूपमा मकै र धान लिने गर्नुहुन्छ । सदियौँदेखि चलिआएको बालिघरे प्रथा निर्मूल हुन नसक्दा आफूले काम गरेवापतको मूल्य नपाएको उहाँको गुनासो छ । वर्षमा दुई चार पाथी अन्नकै भरमा उहाँले जीवन चलाउँदै आउनुभएको छ ।
रैनादेवी छहरा भुवनपोखरीका ध्रुव परियार पनि केही अन्नपातमा लुगा सिलाउँदै आउनुभएको छ । उमेर ४८ वर्ष नाघिसकेका परियारले केही अन्नपातकै भरमा वर्षभरि लुगा सिलाउनुहुन्छ । यस्ता खालका बालिघरे प्रथा अहिले पनि कायमै रहेको जानकारहरू बताउँछन् । परम्परागत आरन र कपडाको काम गरेर गुजारा चलाउनेहरू अहिले समस्यामा मात्र परेका छैनन् उनीहरूको पेसा नै सङ्कटमा पर्ने अवस्था आएको छ । जिल्लाका कतिपय स्थानीय तहहरुले परम्परागत आरन र कपडाको काममा सुधार गरी दलित समुदायका युवालाई स्थानीय स्तरमा स्वरोजगार बनाउने कार्यक्रम लागु गरे पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन ।
रैनादेवी छहरा र रिब्दिकोटका दलित समुदाय अहिले पनि बाली घरे प्रथामा काम गर्न बाध्य छन् । स्थानीय तहबाट पेसा सुधारका लागि तालिमसँगै अनुदानको व्यवस्था भएपनि त्यो दलित समुदायसम्म पुग्न नसक्दा पूख्र्यौली पेशा गरेर जीविकोपार्जन गर्नेहरू मारमा परेका छन् । दलित समुदायका युवाहरूले बाली घरे प्रथाका कारण यो पेसा प्रति चासो दिएको देखिन् । परम्परागत पेसा आधुनिक र व्यावसायिक नबन्दा आर्थिक अभावका कारण गाउँ छाडेर पडाइसँगै अन्य पेसामा लाग्नुपर्ने बाध्यता रहेको दलित युवा सुमन विक बताउनुहुन्छ । कृषि पेसा गर्नेका लागि हसिया, कुटो, कोदालो, बन्चरो र अन्य विभिन्न कामका लागि आवश्यक पर्ने धारिलो हतियार बनाउन दैनिक आगोको रापमा तातेको फलामसँगै पसिना बगाउँदा समेत स्थानीय सरकारले आरन सुधार र बाली घरे प्रथा हटाउन नसकेको दलित समुदायका अगुवाहरुको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्