कारागारमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कारागारमा कोरोना भाइरसको सङ्क्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराईद्धारा आज जारी प्रेस विज्ञप्तिमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले कारागारमा पठाइने नयाँ कैदी–बन्दीलाई अन्य कैदी–बन्दीबाट छुट्टै राख्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ ।
आयोगले काठमाडौंको केन्द्रीय कारागार लगायतका अन्य जिल्लाका कारागारमा रहेका कैदी–बन्दी तथा कारागारको सुुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीमा समेत कोरोनाको सङ्क्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
यसैबीच कोरोनाको सङ्क्रमण बढेसँगै कारागारमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि आयोगसमक्ष अनुरोध गरेकोले आयोगले आजै कारागार व्यवस्थापन विभागसँग जानकारी लिएको विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्