खेलाडीमाथि जातीय विभेदसहित कुटपिट गर्नेलाई सजाँयको माग
काठमाडौं | नेपाल एथ्लेटिक्स संघले कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातीय विभेदसहित कुटपिट गर्नेलाई कडा सजाँयको माग गरेको छ ।
संघका अध्यक्ष राजीव विक्रम शाहले बुधबार बिज्ञप्ती जारी गरी घटनाको घोर भत्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गर्नुभएको हो ।
सोमबार राति झापाको मेचीनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकला सहित उनका श्रीमान सुमन खातीमाथि आक्रमण भएको थियो । स्थानीय छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुको कुटाईबाट चन्द्रकला घाईते भएकी छिन् ।
घाईते चन्द्रकलाको अवस्था गम्भीर बनेपछि उनको बीएन्डसी अस्पतालमा उपचार भईरहेको छ । उनी ७ महिनाकी गर्भवती समृत छिन् ।
नेपाल पुलिसकी खेलाडी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिईन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी थिईन् । उनले नौं महिना अघिमात्र विवाह गरेकी हुन् ।
जातीय विभेद सहित गाली गलौज गरेका श्रेष्ठ दाम्पत्तीलाई धुलाबारीस्थित ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उनीहरुमाथि पाँच दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
एथ्लेटिक्स संघका अध्यक्ष शाहले चन्द्रकलाको स्वास्थ्यपचार लागि संघका तर्फबाट आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्