आन्दोलनरत वीरगञ्जका चिकित्सक काममा फर्किए
वीरगञ्ज । सामुहिक राजीनामा दिएर आन्दोलनमा उत्रिएका १ सय ५० भन्दा बढी वीरगञ्जका निजी अस्पतालका चिकित्सकहरु स्थानिय प्रशासनको आग्रहपछि आजबाट काममा फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सरोकारवाला निकायबीचको बैठकपछि आफुहरु तीन दिनका लागि काममा फर्किएको संघर्ष समितिका महासचिव डा. रामएकवाल राय यादवले जानकारी दिनुभयो । तीन दिनको बीचमा माग सम्बोधन नभएको खण्डमा भदौ १४ गतेबाट फेरि आन्दोलनमा उत्रिने यादवले बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको रोहवरमा बसेको बैठकले निजी अस्पताल सञ्चालकको माग सम्बोधनका लागि एक साताको समय माग गरेकोमा चिकित्सकहरुले एकसाता नभएर ३ दिनको लागी भन्दै आन्दोलन स्थगित गरी आफुहरु काममा फर्किएको डाक्टर यादवले बताउनुभयो ।
अस्पताल सञ्चालकहरूले तत्काल माग सम्बोधन गर्नका लागि गृहकार्य समेत नभएको भन्दै एक साताको समय मागेका थिए ।
आन्दोलनरत चिकित्सकहरुले आफुहरु कार्यरत अस्पताल प्रशासन, नेपाल चिकित्स संघ, जिल्ला प्रशासन कार्यालय पर्सामा ५ बुँदे माग पेश गरेका छन् ।
उनीहरुले एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टिनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्ने, कार्यावधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्ने लगायतका माग गरेका छन् ।
चिकित्सकहरुले ५ बुँदे माग राखेर एक हप्ते अल्टिमेटम सहित आन्दोलनमा उत्रिएको भएपनि निजी अस्पतालका सन्चालकले माग पुरा गर्ने सम्बन्धमा चासो नदेखाएपछि उनीहरुले भदौ ८ गते सामूहिक राजीनामा दिएका थिए ।
चिकित्सकहरुको आन्दोलनको कारण निजी अस्पतालले दिदै आएका सेवा प्रभावित भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्