मकवानपुरमा जारी निषेधाज्ञा आगामी भदौ १५ गतेसम्म यथावत्
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जारी निषेधाज्ञा आगामी भदौ १५ गतेसम्म यथावत् रहने भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (कमाण्ड पोस्ट)को आज बसेको बैठकले उक्त क्षेत्रमा आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिमा सिफारिस गरेको हो ।
उक्त क्षेत्रमा जारी निषेधाज्ञा यथावत् राख्न सिफारिस गरिएको कमान्ड पोस्टका सल्लाहकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । निषेधाज्ञा अहिलेकै अवस्थामा जारी रहने समेत उहाँले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमितहरूको सङ्कलित स्वाब परीक्षणको नतिजाहरू अझै नआइसकेको र कोरोनाको प्रभाव कस्तो छ भन्ने यकिन नभएका कारण उक्त क्षेत्रमा दोस्रो पटक निषेधाज्ञा थपिएको हो ।
गत साउन २६ गतेबाट हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका महेन्द्र राजमार्गको दायाँ वाँया पाँच सय मिटर क्षेत्रमा जारी निषेधाज्ञा ३२ गतेबाट थपेर भदौ ९ गते सम्म पुर्याइएको थियो ।
आजको बैठकबाट दोस्रो पटक आगामी १५ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्