पाल्पामा ट्राभल हिस्ट्री नभएका एक सहित ३ मा कोरोना संक्रमण
बिष्णु खनाल, पाल्पा । पाल्पामा थप तीन जनामा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका ८, मदनपोखरा पीपलडाँडाकी ट्राभल हिस्ट्री नभएकी एक जना महिला र रामपुर नगरपालिकाका २ जना पुरूषमा कोरोना पुष्टि भएको हो ।
ज्वरो र रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि शुक्रबार पुगेकी महिलामा कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा थियो । आइतबार उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
उनको ट्राभल हिस्ट्री पत्ता लगाइ थप व्यक्तिहरुको समेत परीक्षण गरिने उनले बताए । यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।
आज नै रामपुर नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । पाल्पामा हालसम्म ५ सय ६८ जनामा कोरोना देखिएको छ । जसमध्ये ५६६ जना भारतबाट आएका हुन् भने २ जना समुदाय स्तरको महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमित ६ जना मात्रै रहेका छन् । अन्य ५६१ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यु भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्