तपाईँ सुन्दै हुनुहुन्छः

फिफा र एसियन कप छनोटका बाँकी खेलहरु पुनः स्थगित

नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको एएफसीले जनाएको छ ।

तर, एएफसीले नयाँ मिति भने घोषणा गरेको छैन । नयाँ मिति कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले जनाएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । यस अघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय थियो ।

नेपालले असोज २२ गते चाईनिज ताईपेहसँग खेल्दा त्यसको ५ दिनपछि नै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका थियो ।

समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

नेपालले विश्वकप छनोटका लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो । जसको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको कोरोना परीक्षण समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button