शाखा प्रबन्धमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि जनकपुरधामको माछापुच्छ्रे« बैङ्क सिल
जनकपुरधाम । जनकपुरधामको माछापुच्छ्रे बैकको शाखा प्रबन्धमा कोरोना सङ्क्रमणको पुष्टि भएकाले उक्त बैङ्कलाई सिल गर्ने निर्णय भएक्रो छ ।
जिल्ला सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जनकपुरधामको मिल्स एरियामा रहेको बैङ्कको शाखा कार्यालयलाई सिल गरेर त्यसमा कार्यरत रहेका कर्मचारीहरूको स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय भएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एव धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय भएको छ । बैङ्कहरूमा धेरै सेवाग्राहीहरुकोे भिडभाड हुने भएकाले कोरोना महामारीको सङ्क्रमण हुन नदिनका लागि उच्चतम सुरक्षा सावधानी अपनाउने निर्णय भएको छ ।
बैङ्कका शाखा प्रमुखमा नै कोरोनाको सङ्क्रमण देखिइएकाले अन्य कर्मचारीहरूलाई पनि परीक्षण नभएसम्मका लागि होम क्वारेनटाइनमा बस्नका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
यसै गरी आजै भएको सर्वपक्षीय बैठकले कोरोनाका सङ्क्रमण जनकपुरधाम नगर क्षेत्रमा पनि फैलिइरहेकाले भिडभाड हुन नदिने, पसल तथा मान्छे भिडभाड हुने ठाउँमा उच्च सुरक्षा सावधानी अपनाउने, व्यापारीलाई पसल बजार खोल्दा सुरक्षाका लागि मास्क, स्यानिटाइजर तथा साबुन पानीको अनिवार्य व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।
व्यापारी तथा आम नगरबाँसीमा कोरोनाको विषयमा चेतना अभिवृद्धिका लागि माईकिङ्ग गर्ने, आम व्यक्तिलाई काम नभए बाहिर ननिस्कनका लागि आग्रह गर्ने, बाहिर निस्कनु परेको खण्डमा अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र नलगाउनेलाई रसिद काटेर जरिवाना गर्ने निर्णय भएको छ ।
सुरक्षा निकायका सबै अङ्गका प्रमुखहरू, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, धनुषा चेम्बर अफ कमर्स, नेपाल रेडक्रस सोसाइटी, सामाजिक क्षेत्रका व्यक्तिहरूको पनि सहभागितामा भएको बैठकमा व्यापारीहरूले कोरोनाको टेस्ट बढाउन तथा भेन्टिलेटरको व्यवस्था गर्नका लागि सुझाव दिनुभएको थियो ।
लकडाउन नगरेर सुरक्षा सावधानीसहित बजार खुल्ला रहन दिनका लागि व्यापारिक संस्थाका प्रमुखहरूले आग्रह गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्