बैतडीमा क्वारेनटाइनमा बस्नेको सङ्ख्या कम हुँदै

बैतडी । बैतडीमा क्वारेनटाइनमा बस्नेको सङ्ख्या कम हुँदै गएको छ । अहिले प्रत्येक स्थानीय तहमा निर्माण गरिएका क्वारेनटाइनमा खाली हुँदै गएका छन् । तर कोरोना सङ्क्रमणको जोखिम भने बढ्दै गएको छ ।
भारत तथा अन्य ठाउँमा जिल्ला भित्रिएकाहरू सिधै घर जाने प्रवृत्ति बढेकाले कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
पछिल्लो समयमा भारतबाट फर्केकाहरू होम क्वारेनटाइनमा बस्न थालेका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो । बाहिरबाट आएका नागरिकहरू अहिले आफैँ होम क्वारेनटाइनमा बस्न थालेका उहाँको भनाई छ ।
होम क्वारेनटाइनका नियमहरू पालना गर्न नसक्दा कोरोनाको जोखिम बढ्दै जाने भएकाले अहिले पनि भारतबाट फर्केकाहरूलाई क्वारेनटाइनमै राख्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । एक पटक ६ हजार बढी नागरिक क्वारेनटाइनमा बसेका थिए । तर पछिल्लो समयमा जिल्लामा दुई सय बढी नागरिक मात्रै क्वारेनटाइनमा छन् ।
भारतबाट फर्कनेको सङ्ख्या कम हुँदै जानु र धेरै जसो होम क्वारेनटाइनमा बस्ने गर्नुले क्वारेनटाइनमा बस्नेको सङ्ख्या कम हुँदै गएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्