सिईओ सहित थप ३ जना मजदुर संक्रमित भएपछि जगदम्बा इन्टरप्राईजेज सिल

वीरगंज । वीरगंजको जगदम्बा इन्टरप्राईजेजका सिईओ सहित थप ३ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले आजबाट सो उद्योगलाई सिल गरेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहितको टोली उद्योगमै पुगेर अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
लकडाउनको बेला जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराएको परिणाम सिईओ सहित उद्योगमा कार्यरत ३ मजदुरलाई संक्रमण पुष्टि भएपछि उद्योग सिल गर्ने निर्णयमा प्रशासन पुगेको बस्नेतले बताउनुभयो ।
गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय सिईओमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हाल अस्थायी कोभिड गण्डक अस्पतालको आईसीयू कक्षमा उपचार भईरहेको छ ।
सिईओ संक्रमित भएसँगै कन्ट्रयाक्ट ट्रेसिङको आधारमा पिसिआर परिक्षण गर्दा जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।
भारतीय नागरिक लुकिछिपी वीरगंज भित्रिने र चुपचाप बस्ने तथा उद्योगहरुमा काम गर्ने क्रम बढदै गएपछि अहिले वीरगंज कोरोना संक्रमणको जोखिममा पुगेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्