वीरगंजका सम्पूर्ण कार्यालय, सेवा, व्यवसाय पूर्णरुपमा बन्द

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै अनिश्चिकालिन रूपमा निषेधाज्ञा घोषणा गरिएको हुँदा बीरगंजका सम्पूर्ण कार्यालय, सेवा, व्यवसाय सञ्चालन पूर्णरुपमा बन्द गरिएको जनाएको छ ।
जारी सूचनामा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक बीरगंजवासी कोही पनि घरबाहिर निस्कन नपाउने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, आइसीपि, ड्राईपोर्ट, बैङ्क, क्वारेनटाइन, फोहर मैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द रहने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतद्वारा जारी सूचनामा विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा वीरगंजबासीको जीवन रक्षाको लागि भएको हुँदा यसको पूर्ण पालना गर्न समेत नगरवासीलाई आग्रह गरिएको छ ।
सूचनामा स्थिति सहज हुँदै गएमा क्रमशः निषेधाज्ञालाई खुकुलो बनाउँदै जाने समेत जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्