पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, तनहुँको नाहालामा सडक मर्मत कार्य जारी

तनहुँ । तनहुँको बन्दिपुर–१ नाहालामा भासिएको पक्की सडकको मर्मत कार्य जारी रहेको छ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको दमौली डुम्रे सडक खण्ड नाहालामा सडक भासिएपछि गत एक हप्तादेखि राजमार्गको यात्रा असहज बनेको छ ।
उक्त स्थानमा करिब १० मिटर बढी भासिएको सडक हिजो शनिवार राति करिब ११ः३० बजेबाट एकतर्फी सडक सुचारु गरिएको छ । अविरल वर्षाका कारण सडक भासिएपछि गत मङ्गलवारदेखि अवरुद्ध उक्त सडक खण्ड शुक्रवारदेखि पूर्णरुपमा बन्द गरिएको थियो ।
डाइभर्सनमा ठुला सवारी साधन फस्न थालेपछि शुक्रवारदेखि राजमार्ग नै पूर्णपमा बन्द गरी सडक निर्माण कार्य अगाडि बढाइएको डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भासिएको सडक खण्डमा ग्याविङ्गजाली भरेर अस्थायी रूपमा सडक निर्माण गर्ने कार्य तीव्र पारेका छाँै । आज साँझसम्म सडक पूर्णरुपमा सुचारु हुन्छ ।”
सडक मर्मतको काम भइरहेको छ तर सोचे अनुरूपको इन्जिनियरिङ भएको देखिँदैन वडा अध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । “मूलको पानी कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडा अध्यक्ष पोख्रेलले भन्नुभयो ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।”

अहिले तत्कालका लागि होला तर दीर्घकालीन समाधान भने नभएको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो ।
हिजो शनिवार रातिदेखि एकतर्फी खुलेको र सवारी पास भइरहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताउनुभयो ।उक्त सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगायतले मर्मतको काम गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्