भ्रष्टाचार नियन्त्रणका लागि आयोगलाई अझै बलियो बनाउनुको विकल्प छैन : प्रमुख आयुक्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले निष्पक्ष रूपमा काम गरिरहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रमुख आयुक्त घिमिरेले आयोगले कसैको छायामा नपरी निष्पक्ष भएर काम गरिरहेको र आगामी दिनमा आयोगलाई अझै बलियो बनाएर लैजानुको कुनै विकल्प नभएको बताउनुभयो ।
प्रमुख आयुक्त घिमिरेले नीतिगत र संस्थागत रूपमा विकास हुँदै गइरहेको भ्रष्टाचार, आयोग एक्लैले न्यूनीकरण गर्न नसक्ने भन्दै यसमा सबैको समन्वयात्मक र एककिृत पहल आवश्यक रहेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार निवारणका लागि पद्धति र नीति मुख्य रूपमा रहेको भन्दै भ्रष्टाचार न्यूनीकरणका लागि कानुन नै बलियो रूपमा आउनु पर्ने र संसद्मा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनमार्फत आयोगलाई अझै बलियो बनाइनु उल्लेख गर्नुभयो ।
प्रमुख आयुक्त घिमिरेले विदेशी बैङ्कमा रहेको भनिएको रकमको विषय दुई देशीय सहमतिमा मात्रै छानबिन हुन सक्ने स्पष्ट पार्नुभयो ।
प्रमुख आयुक्त घिमिरेले सेक्युरिटी प्रेस खरिदको विषयमा आयोगले छानबिन गरिरहेको भन्दै छिट्टै निक्यौलमा पुग्ने बताउनुभयो ।
छलफलमा आयुक्तहरू डा. गणेशराज जोशी र डा.सावीत्रि थापा गुरुङले अख्तियारले भ्रष्टाचार बाहेक अरू विषय नहेर्ने भन्दै नीतिगत रूपमा हुने भ्रष्टाचारदेखि सबै विषय समाधान गर्न अख्तियारलाई बलियो बनाउनु पर्ने बताउनुभयो ।

छलफलमा सांसदहरुले भ्रष्टाचार दिनानुदिन बढ्दै गइरहेको, नीतिगत रूपमा भ्रष्टाचार हुने गरेको, ठुला भ्रष्टाचारीहरूलाई आयोगले अनुसन्धान गर्न नसकेको, आयोगका पदाधिकारी राजनीतिक भागबन्डाको आधारमा हुनु नहुने बताउनुभयो ।
सांसदहरुले संस्थागत रुपमानै विकास भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न बलियो कानुन बनाउनु पर्ने, आयोगलाई राजनीतिक छायाँमा नपारी अझै निष्पक्ष बनाइनु पर्ने र नीति गत रूपमा हुने भ्रष्टाचार रोक्ने गरी सबै पक्ष लाग्नु पर्ने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्