तपाईँ सुन्दै हुनुहुन्छः

पुनः मौसम सक्रिय हुने

काठमाडौँ । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ ।

वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो ।

वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।

आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ । ती मध्ये सबैभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन् ।

त्यस अवधिमा पहिरोमा परेर ११३ घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button