तपाईँ सुन्दै हुनुहुन्छः

बारेकोटका बाढीपहिरो पीडितलाई राहत वितरण 

जाजरकोट । गत असार २५ गतेको बाढी पहिरो पिडित जाजरकोटको बारेकोट गाउँपालिकाका ६ सय ५० घर परिवारलाई गैर खाद्य सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस लगाएत सहयोगी संथाबाट संकलन गरिएको राहत सामग्री गाउँपालिकाले आज पीडित घरपरिवारहरुलाई वितरण गरेको हो ।

३ सय ७५ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले दिएको ३ सय ७५ थान त्रिपाल, ३ सय ५० थान कम्बल, केयर नेपाल र पहाडी क्षेत्र विकास अभियान जाजरकोटले ३ सय ४५ सेट कम्बल तथा त्रिपाल र सरसफाइको गैरखाद्य सामाग्री उपलब्ध गराएका थिए ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले पीडित परिवारले ढिलै भएपनि राहत पाएको बताउनु भयो । राहत संकलन जारी रहेको बताउनु हुदै अध्यक्ष शाहले विस्थापित सबै परिवारलाई पुग्ने राहत वितरण गरिने पनि बताउनु भयो ।

पहिरोको कारण ३ सय ३४ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ५५ घर पुर्ण रुपले क्षति ग्रस्त बनाएको छ । १ हजार ५५ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन ।

सयौं हेक्टरमा जमिनमा लगाएको मकैबाली, धान खेती नष्ट गरेको छ । एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

बारेकोटमा बाढीपहिरोबाट ९ करोड बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ । पहिरोले ११ जनाको ज्यान जानुको साथै ३ जना अँझै बेपत्ता छन् । राहत सहयोग पाएपछि पीडित परिवार खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button