तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकामा खटिएका थप १८ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

भद्रपुर, झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका थप १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएकाहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत छन् । सङ्क्रमण पुष्टि भएका सशस्त्र प्रहरी सीमा नाकासँगै क्वारेनटाइनमा पनि खटिएका थिए । सङ्क्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठगाउँस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

शुक्रवार झापामा २५ जना सङ्क्रमित थपिएका थिए । १८ जना सशस्त्रसहित बाह्रदशी गाउँपालिकामा तीन, झापा गाउँपालिका तीन र बिर्तामोड नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो

थपिएका अन्य सङ्क्रमित भारतलगायत तेस्रो मुलुकबाट आएका हुन् । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या तीन सय ४५ पुगेको छ । त्यसमध्ये दुई सय ९८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button