सदरमुकामको सडक स्तरोन्नति नहुँदा समस्या
बैतडी- बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको छ । सदरमुकाम गढी–गोठलापानी सडक समयमै स्तरोन्नति नहुँदा सो सडकमा हिँडडुल गर्नेलाई निकै सकस हुने गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा सडक स्तरोन्नतिका लागि ठेक्का भए पनि समयमै स्तरोन्नतिको काम नहुँदा बाटोमा हिँड्नेलाई सास्ती भएको हो । जिल्लाको मुख्य प्रशासनिक निकाय जोड्ने बाटोसमेत समयमा स्तरोन्नति नहुँदा समस्या भएको दशरथचन्द नगरपालिकामा कार्यरत नायब सुब्बा राजु विष्टले बताउनुभयो ।
सदरमुकाम क्षेत्रको सो सडक स्तरोन्नति गर्नका लागि केएस कन्सट्रक्सनले रु तीन करोड ८० लाखको लागतमा ठेक्का पाएको भए पनि समयमा सडक स्तरोन्नति नहुँदा स्थानीयलाई समस्या भएको हो । समयमै सडक स्तरोन्नति नहुँदा जिल्ला प्रशासन, दशरथचन्द नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कामका लागि जानेलाई झन समस्या हुने गरेको छ ।
करिब १.२ किलोमिटरको सो सडक निर्माणका लागि केही व्यावहारिक समस्या र केही ठेकेदारको लापरवाहीका कारण समयमै काम सम्पन्न हुन नसकेको शहरी तथा भवन निर्माण आयोजना डोटीको फिल्ड कार्यालय बैतडीमा कार्यरत सवइञ्जिनीयर सञ्जय रेग्मीले बताउनुभयो ।
गत असोजमै सक्नुपर्ने सो योजना समयमै सम्पन्न नभएपछि निर्माण कम्पनीले आगामी मङ्सिरसम्म ठेक्काको थप म्याद पाएको छ । अनुमानभन्दा बढी काम गर्नुपरेको र विवादका कारण समयमा काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीले दाबी गरेको छ । सात मिटर सडक चौडा बनाउने भने पनि स्थानीयका घर तथा अन्य संरचना पर्दा धेरै समय काम गर्न नपाएको कम्पनीका प्रतिनिधि पदम भाटले बताउनुभयो ।
यसअघि उक्त सडकमा मात्रै वर्षेनी नगरपालिका, तत्कालीन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरेको भए पनि उक्त सडकको व्यवस्थित तरिकाले मर्मतसम्भार नहुँदा सर्वसाधारण र सवारी चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । विसं २०७४ मा मात्रै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले सडकको मर्मतका लागि रु १० लाख बजेट विनियोजन गरी काम गरेको थियो ।
विसं २०६८ मा जिल्ला विकास समितिको रु ५० लाख लागतमा कालोपत्रे गरिएको उक्त सडकमा शहरी विकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि मर्मतको नाममा लाखौँ रुपयाँ खर्च गरिसकेको छ तर सडक व्यवस्थित तरिकाले मर्मत नहुँदा आफूलाई यात्रा गर्न निकै समस्या हुने गरेको विभिन्न कामका लागि सदरमुकाम पुग्नेले गुनासो गर्ने गरेका छन् । सडकमा भएको खाल्डाखुल्डीकै कारण उक्त सडकमा सवारी दुर्घटनासमेत हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्