कपुरकोटमा ३१ करोड २९ लाखको बजेट पारित, चार वटा ऐन पारित

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा वडा कार्यालयका भवन निर्माण संगै खानेपानीका ठूला आयोजनाहरु सञ्चालन हुने भएका छन् । गाउँपालिकाको सातौँ गाउँसभाले कोरोना नियन्त्रण तथा आर्थिक विकास, पूर्वाधार विकास र सामाजिक विकासलाइ जोड दिंदै आर्थिक वर्ष २०७७।७८ को बजेट पारित गरेको हो ।
गत असार १० गते शुरु भएको गाउँसभाको बैठक चार वटा ऐन संगै बजेट तथा कार्यक्रम सर्वसम्मत पास गर्दै विहिबार सकिएको हो । विहिबारको दोश्रो गाउँसभा बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले प्रस्तुत गरेको पुँजीगत खर्च तर्फ २४ करोड ६८ लाख २४ हजार र चालु खर्च तर्फ ६ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट पारित भएको हो ।
गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि समपुरक अनुदान मार्फत वडा नम्बर ६ मा गौँरेखोला लिफ्ट सिस्टम खानेपानी योजना सञ्चालन गर्नका लागि ५० लाख र वडा नं २ मा भुतखोला खारखोला लिफ्ट सिस्टम खानेपानी योजना सञ्चालन गर्न ८० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै वडा नं १ र ६ को वडा कार्यालय भवन निर्माणका लागि ६०÷६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
जीवनज्योती मा.वि. रिम र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा भवन निर्माणका लागि ३०÷३० लाख, सिद्ध आधारभुत विद्यालय खाली र प्रा.वि. क्युरेनिमा पनि भवन निर्माणका लागि १६÷१६ लाख तथा कपुरकोट वहुमुखी क्याम्पसका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण, दिदि वहिनिसंग उपाध्यक्ष कार्यक्रम, गाउँ पालिका स्तरिय अध्यक्षकप तथा वडा अध्यक्षकप खेलकुद, युवा संग गाउँपालिका कार्यक्रम, पूर्ण सरसफाई अभियान र कला संस्कृती संरक्षण कार्यक्रमका लागि कपुरकोटले बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाको व्यवस्थापन संगै गाउँघर क्लिनिक निर्माण, खेल मैदान, कृषि टहरा निर्माण, लघु उद्यम, झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
विपद् ब्यवस्थापनका लागि ३० लाख, वातावरण संरक्षणका लागि ५ लाख तथा गा.पा. को आवधिक योजना निर्माण र डिजिटल प्रोफाइल निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ ।
चार वटा ऐन पारित
कपुरकोट गाउँपालिकाको सातौँ गाउँसभाबाट ४ वटा ऐन पनि पारित भएको छ । आर्थिक ऐन २०७७, विनियोजन ऐन, २०७७ संगै स्थानीय वन ऐन, २०७७ र “वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७” पनि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारिले जानकारी दिए ।
स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक स्रोतको समुचित उपयोग एवं दीगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न तथा प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण गर्नका लागि “वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पास गरिएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।
यस्तै स्थानीय वन ऐन पास भएसंगै वनमाथिको स्थानीय समुदायको अग्राधिकारलाई व्यवहारिक रूपमा प्रत्याभूत गराउदै वनको दिगो व्यवस्थापन, दिगो संरक्षणमा टेवा पुग्ने अध्यक्ष सेनको विश्वास छ ।
पूर्वाधार विकास, सामाजिक न्याय सहितको समतामुलक समाज निर्माण, विकासका लाभहरुको न्यायोचित वितरण गर्ने, सबै प्रकारका विभेदको अन्त्य गर्ने, लैंगिक समानता कायम गर्ने, विकासलाई दिगो बनाउने, रोजगारिको श्रृजना गर्ने अभियानमा गाउँपालिका लागि परेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्