थप एक सय ३९ जना कोरोना सङ्क्रमण मुक्त, एक सय आठ जना सङ्क्रमित थपिए

काठमाडौँ । आज थप एक सय ३९ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशको विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट थप एक सय ३९ जना सङ्क्रमण मुक्त भएपछि हालसम्म सात हजार आठ सय ९१ जना सङ्क्रमण मुक्त भएको जानकारी दिनुभयो ।
यसै गरी आज थप एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेको छ भने पाँच वटा जिल्ला कोरोना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न स्थानका २५ वटा प्रयोगशालामा चार हजार पाँच सय ८८ वटा नमुनाको रियल टायम पिसिआर परीक्षण गर्दा एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा आज २४ हजार चार सय २५ जना रहेका छन् भने आठ हजार छ सय पाँच जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्